महिला खाने वन्यजन्तु धमाधम संरक्षण गर्दै चितवनबासी, हालसम्म ८ जना मारिँदा पनि स्थानीय ‘कूल’

0 26

Get real time updates directly on you device, subscribe now.

२४ साउन, चितवन । नजिकको राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकी भरतपुर महानगरपालिका २५ कि २५ वर्षीया सुशीला डुम्रेलाई बाघले आक्रमण गर्‍याे । सुशीलालाई खाँदै गरेको बाघलाई आठवटा हात्तीको सहायताले धपाउन खोज्दा पनि भागेन । अन्तिममा केही उपाय नलागेपछि निकुञ्जका प्राविधिकहरुले बाघलाई डाट गरेर नियन्त्रणमा लिए र खोरमा थुनेर राखे ।

चालु आर्थिक वर्षमा जंगली जनावरको आक्रमणबाट मानवीय क्षति भएको यो पहिलो घटना हो ।

चितवन राष्ट्रिय निकुञ्ज आसपासका जनताहरु कुनै न कुनै रुपमा जंगली जनावरको आक्रमणबाट पीडित छन् । जंगली जनाबरले खेतीबाली नष्ट गरिदिने, घर भत्काइदिने, घाइते बनाउने र उस्तै परे ज्यान नै लिने गरेको छ । खासगरी माडी क्षेत्र, पूर्वी चितवनको कठारसहित सौराहाको तल्लो बेल्ट, पटिहानी, जगतपुर, मेघौलीलगायतका क्षेत्रमा जंगली जनावरको आक्रमण र त्यसबाट मृत्यु ज्यादा हुने गरेको छ ।

तर, स्थानीयबासीले क्षति व्यहोरेर भए पनि जंगली जनावरको संरक्षण गर्दै आएका छन् । वन्यजन्तुसँग द्वन्द्व बढाउने काममा यहाँका स्थानीय उद्दत नभएको बताउँछन् संरक्षणकर्मी अपिल घिमिरे ।

वन्यजन्तु अवोध प्राणी भएकाले यिनीहरूको संरक्षण गर्नुपर्छ, यसको पारिस्थितिक प्रणालीमा महत्त्व हुन्छ भन्ने चेतनाले गर्दा पनि मानिसहरु संरक्षणमा लागेको घिमिरेले बताए । सबै मानिसलाई संरक्षणको चेतना नहुँदा पनि बेला बेलामा द्वन्द्व हुने गरेको छ । थाहा भएका मानिसहरु जंगली जनावरसँगको द्वन्द्वमा नपर्ने घिमिरेको भनाइ छ ।

पारिवारिक बाध्यताले जंगलमा घाँस दाउरा गर्न जाँदा यस्ता घटनाहरु हुने गरेका छन् । त्यसको लागि निकुञ्ज र मध्यवर्ती क्षेत्रले उचित विकल्प अघि सार्नेतर्फ प्रभावकारी काम हुन सकेको छैन ।

आफ्ना लागि भनेर लगाएको बालीनाली वन्यजन्तुका लागि लगाइदिएको जस्तो पनि कहिलेकाहिँ हुने गरेको छ । तर, बन्यजन्तुबाट भएको क्षतिको क्षतिपूर्ति यहाँका स्थानीयले पाएका छैनन् ।

वन्यजन्तुबाट ८ जना मारिँदा पनि स्थानीय ‘कूल’

चितवन राष्ट्रिय निकुञ्जको तथ्यांक अनुसार गत वर्ष जंगली जनावरको आक्रमणमा परी आठ जनाले ज्यान गुमाए । बाघको आक्रमणबाट एक, गैंडाबाट तीन र हात्तीको आक्रमणबाट चार जनाको मृत्यु भएको हो ।

यस्तै जंगली जनावरको आक्रमणमा २६ जना घाइते भए । त्यसमा बाघको आक्रमणबाट १, गैंडाको आक्रमणबाट १४, हात्तीबाट १, बँदेलबाट ८ र अन्य २ गरी २६ जना छन् । बालीनाली क्षतिको त कुनै हिसाब छैन । विगत ५ वर्षको तथ्यांकलाई नियाल्दा जंगली जनावरको आक्रमणबाट ४० जनाको ज्यान गएको छ भने ११८ जना घाइते भए । तीमध्ये सबैभन्दा बढी गैंडाको आक्रमणबाट १७ जनाको मृत्यु भएको छ भने ५४ जना घाइते भएका छन् ।

पाउँदैनन् राहत

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट आउने जंगली जनावरले गर्ने जनधनको क्षतिको राहत पाउन स्थानीयबासीलाई निकै मुस्किल छ । निकुञ्जको ऐन अनुसार पाउनुपर्ने क्षतिपूर्ति पनि पाउन निकै समस्या हुने गरेको स्वयं निकुञ्जका पदाधिकारीहरु बताउँछन् ।

बेलैमा राहत नपाउँदा मृतकका आश्रित परिवारहरुलाई समस्या हुँदै आएको छ । घाइतेहरुलाई उपचार गर्न भन्दा क्षतिको रकम लिन महाभारत हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा गएको वर्ष मानवीय र भौतिक क्षतिको राहतका लागि १ हजार ३४ जनाले निवेदन दिएका थिए । तर तीमध्ये जम्मा ११ जनाले मात्रै राहत पाएका छन् । बाँकी ९ सय ४९ जनाले अझै नियमानुसारको राहत पाउन सकेका छैनन् ।

तर राहत कहिले पाइन्छ भन्ने प्रश्नको जवाफ निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल आफैंसँग छैन । निकुञ्जले राहतका लागि सिफारिस मात्रै गर्ने उनले बताए ।

वन्यजन्तु आक्रमणमा एक वर्षको अवधिमा ज्यान गुमाएका ८ जनामध्ये ३ जनाका परिवार योग्य नभएकाले राहत पाएनन् । अन्य २ जनाको परिवार योग्य भएर पनि राहत रकम पाएका छैनन् ।

यो अवधिमा जंगली जनावरको आक्रमणबाट २६ जना घाइते भए । तीमध्ये १८ जनाले उपचार खर्चसमेत पाएका छैनन् । मानव मृत्यु र घाइतेको आंशिक राहत पाएपनि अन्य क्षति भएका पीडितहरुले गएको आर्थिक वर्षमा एक रुपैयाँ पनि राहत पाएका छैनन् । राहत रकम नपाउँदा वन्यजन्तु र मानव समुदायबीचमा द्वन्द्व बढ्ने चिन्ता संरक्षणकर्मीमा छ ।

वन्यजन्तु आक्रमणबाट मृत्यु भएमा मृतकको परिवारलाई १० लाख, सामान्य घाइते भएमा बढीमा उपचार खर्च २० हजार, गम्भीर घाइते भएमा बढीमा २ लाख रुपैयाँ राहत दिने गरिएको छ ।

यस्तै, पशुधनतर्फ वयस्क उमेरको पशुको मृत्यु भएमा ३० हजारसम्म राहत पाइन्छ । अन्य पशुको मृत्यु, भण्डारण गरेको अन्नको क्षति, एक मौसममा लगाएकोे बालीलाई एकपटक र वर्षमा दुईपटक नबढ्ने गरी १० हजार रुपैयाँ राहत रकम दिने व्यवस्था छ । ‘तर पशुधन क्षतिको कुनै रकम आएन,’ निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले भने । अनलाइन खबरबाट 

Leave A Reply

Your email address will not be published.