यी ७ वर्षीय बालक-जसको आधा शरीर करेन्ट लागेर अपांगता छ, आमा बेपत्ता, कान्छीको साथमा बाबु काठमाडौंमा !

0 21

Get real time updates directly on you device, subscribe now.

धनकुटा । टाउको भरी घाउ र चोट बोकेर हिँडिरहेका धनकुटा चौबिसेका ७ वर्षीय बालक सन्देश तामाङ् सबैजना भएर पनि आज एक्लो छन् ।

गएको ४ महिना देखि बुवा–आमा बेपत्ता भएपछि आधा शरीर अपांगता भएका उनी उपचारको अभावमा टाउकोमा घाउ बोकेर थप पीडामा छटपटाईरहेका छन् ।

२०७२ सालमा आफ्नै घर नजिक चुँडिएर झरेको बिजुलीको तारमा खेल्दा करेन्ट लागेर देब्रे कान, हात र खुट्टा गुमाएका सन्देशलाई अहिले फेरी टाउकाको घाउले सताईरहेको छ ।

हात र खुट्टाको भर नहुँदा एक महिना अघि मावलीमा लडेर उनको टाउकोमा गहिरो चोट भएको थियो । कुरुले तेनुपा गाउँको बन्दुके डाँडा वडा नं. ३ निवासी तामाङ्गको गाउँमा उपचार हुन नसकेपछि उनका बाजेले धरान र काठमण्डौंमा प्रारम्भिक उपचार गराका थिए ।

तर करेन्ट लागेदेखि हालसम्म ऋण गरेर उनको उपचारमा १० लाख ५० हजार खर्च गरेका तामाङ्ग परिवारले अब भने आर्थिक अभावमा सन्देशको उपचार गर्न छाडेका छन् ।

बाबु टेक बहादुर कान्छी श्रीमतीसँग काडमाडौंमा छन् भने अर्को तर्फ आमा प्रमिला पनि सम्पर्कविहिन भएपछि अहिले ६५ वर्षीय बाजे जीत बहादुर तामाङ्ग मात्र उनको सहारा बनेको छ ।

तर आर्थिक अभावमा कुनै उपचार छैन । केवल तातो पानीले सरसफाई मात्र छ । सोही ठाउँमा रहेको कुरुले तेनुपा मा.वि.मा कक्षा २ मा अध्ययनरत उनी सकिनसकी विद्यालय जान्छन् । बाजेले पटक–पटक घाउ सफा गरिदिन्छन् ।

झिंगा नलागोस् भनेर छोपिएको रुमालभरी पिपको टाटो लागेको छ । हरेक पटक टाउको सफा गर्न रुमाल निकाल्दा सन्देश पिरोलिन्छन् । ‘पहिलाकै साढे पाँच लाख भन्दा बढी ऋण छ, अब कुनै उपाय छैन’ बाजे जीत बहादुर भन्छन् ।

मावलीबाट टाउकोमा गहिरो घाउ लिएर आएका कान्छा नातीको जीत बहादुरले उनको धरान स्थित विपि मेमोरियल अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौंको कान्ति बाल अस्पतालमा उपचार गराएका थिए ।

‘तिघ्राको मासु काटेर टाउकोमा लगाएको सबै पाक्दो रछ, दिनै ल्याउनु भन्थो पैसा नभएर त्यसै भो’ जीत बहादुरले गुनासो गरे ।

डक्टरहरुले अब उपचार गर्न २ लाख ५० हजार लाग्ने भनेपनि आफूहरुसँग अब कुनै उपाय नभएकोले नातीको बिजोग हेर्न बाहेक अर्को बिकल्प नभएको उनले बताए ।

सन्देश अहिले काका–काकी, दाजु र बाजेससँग बसेका छन् । सबैजना कृषि पेशामा आवद्ध भएकाले आर्थिक अभावमा उनको थप उपचार हुन नसकेको स्थानीय सहकारी चौकका गाउँलेहरुले जानकारी दिए ।

धनकुटाको कर्णाली भनेर चिनिने यो गाउँ जिल्लाकै विकट गाउँमा पर्दछ । अधिकांश बसाई सरेर रित्तो भईरहेको यो गाउँ प्रदेश नं.१ कै सुख्खा ग्रस्त क्षेत्र हो ।

राजारानी ६ नं. बुधबारे सडक खण्डको लाप्सेबाट १३ किमी कच्ची सडकको पहुंचमा यो गाउँ रहेको छ ।

Leave A Reply

Your email address will not be published.