च्याम्पियन्स लिग : पहिलो खेलमै मेस्सीले ह्याट्रिक गरेपछि बार्सिलोनाको शानदार सुरुआत

0 31

Get real time updates directly on you device, subscribe now.

टोलीका कप्तान तथा सुपरस्टार लिओनल मेस्सीले सिजनको पहिलो खेलमै सनसनीपूर्ण ह्याट्रिक गरेपछि स्पेनिस बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा सुखद् सुरुआत गरेको छ । समूह ‘बी’अन्तर्गत गत राति भएको प्रतियोगिताको पहिलो खेलमा बार्सिलोनाले पाहुना टोली नेदरल्यान्ड्सको क्लब पिएसभी इन्डोभिनलाई ४–० ले स्तब्ध बनायो ।

घरेलु मैदानमा बार्सिलोनालाई फराकिलो जित दिलाउन मेस्सीले ह्याट्रिक हाने भने अर्को गोल उसामान डेम्बेलेले गरेका थिए । पहिलो हाफमा सामान्य देखिएको खेलमा बार्सिलोनाले १–० को अग्रता लिएको थियो ।

खेलको ३०औं मिनेटमा मेस्सीले डि–एरियाभन्दा केही बाहिरबाट निकै आकर्षक फ्रि किक गोल गरेका थिए । उनले आफ्नो ‘ट्रेड मार्क’ शैलीको फ्रि किक गोल गरेका थिए । सोही गोलको मदतमा बार्सिलोना पहिलो हाफमा १–० ले अगाडि रह्यो ।

तर, दोस्रो हाफमा बार्सिलोनाले गोलको वर्षा नै गर्यो । ७४औं मिनेटमा उसामान डेम्बेलेले निकै कठिन अवस्थाबाट बल छलाएर मुभ बनाउँदै आकर्षक गोल गरेका थिए । त्यसको ३ मिनेटपछि नै मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ३-० ले अगाडि रह्यो ।

त्यसपछि खेलको ८७औं मिनेटमा मेस्सीले टोलीका लागि चौथो गोल गर्दै सिजनको आफ्नो पहिलो ह्याट्रिक गरे भने टोलीलाई ४–० को जित दिलाए ।

बार्सिलोनाले अन्तिम १० मिनेट १० खेलाडीमा सीमित भएर खेलेको थियो । उसका डिफेन्डर सामुएल उम्टिटी दोस्रो हाफमा दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेका थिए । उनले आगामी खेल गुमाउने छन् ।

यो जितपछि बार्सिलोना आफ्नो समूहको शीर्ष स्थानमा छ । उसको खातामा ३ अंक छ । दोस्रो स्थानमा इटालियन क्लब इन्टर मिलान रहेको छ । उसको पनि खातामा ३ अंक नै रहेको छ । कोशी अनलाइनबाट 

Leave A Reply

Your email address will not be published.