म १६ वर्षकी छँदा २३ वर्षको एउटा केटाले डेट गएकोबेला बलात्कृत भएको थिएँ, अहिले सम्म मौन छु

0 138

Get real time updates directly on you device, subscribe now.

काठमाडौँ — म १६ वर्षकी छँदा २३ वर्षको एउटा केटासँग डेट गर्न थालेकी थिएँ । ऊसँग मेरो लस एन्जलस नजिकैको युन्टे हिल्स मलमा भेट भएको थियो । म त्यसबेला स्कुल सकिएपछि त्यहाँको एउटा पसलको काउन्टरमा काम गर्थें । ऊ त्यही मलको अर्को पसलमा काम गथ्र्यो । ऊ खरानी रंगको सिल्क सुट लगाएर आउँथ्यो र मसँग जिस्किन्थ्यो ।

कहिलेकाहीं हामी सँगै डुल्न गएको बेलामा पनि ऊ मलाई छोड्न मेरो घरसम्मै आउँथ्यो । र भित्र छिरेर आमासँग गफ गरेर मात्रै जान्थ्यो । स्कुलको समयमा उसले कहिल्यै मलाई अबेर रातिसम्म बाहिर राखेन । हामी केही हदसम्म नजिक थियौं । उसलाई मेरो कुमारीत्व भंग भएको छैन भन्ने थाहा थियो । मैले भने म कहिले समागमको लागि तयार हुन्छु भन्ने सोचेकी नै थिइन ।

हामीले डेट गर्न सुरु गरेको केही महिनापछि नयाँ वर्षको पूर्वसन्ध्यामा उसले मलाई बलात्कार गर्‍यो ।

जब सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरिएका ब्रेट काभानग विरुद्ध यौन शोषणको आरोप लगाउँदै दुई महिला अगाडि आए, तब म आफ्नो घटनाबारे पनि गत सातादेखि सोचिरहेकी छु ।

क्रिस्टिन ब्लासे फर्डले काभानगले उनीहरू दुवैजना उच्च माध्यमिक तहमा अध्ययन गर्दा आफूमाथि चढी मुख थुनेर बलात्कार गर्ने प्रयास गरेको आरोप लगाइन् । र डिबोरा रामिरेजले काभानगले कलेजमा पढ्दा दुव्र्यवहार गरेको ।

गत शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पले डा. ब्लासेले भनेको कुरा साँचो भए वर्षौं अघि नै किन प्रहरीमा उजुरी नगरेको भनी प्रश्न उठाएका छन् । उनीहरू दुवैजनाले यतिका वर्षसम्म किन प्रहरीमा उजुरी गरेनन् र यो कुरा लुकाए भन्ने म बुझ्छु । वर्षौंसम्म मैले पनि त्यसै गरेकी हुँ । शुक्रबारै मात्र मैले वर्षौं पहिला मसँग भएको घटनाबारे मुख खोलेकी छु ।

तपाईंलाई म बलात्कृत भएको रात मातेकी पो थिएँ कि भन्ने लगेको छ भने त्यसको कुनै अर्थ छैन । तर म मातेकी थिइन । फेरि मैले उत्तेजित पार्ने कुनै लुगा पो लगाएकी थिएँ भन्ने लागेको छ भने त्यसको पनि कुनै अर्थ छैन । मैले त्यो दिन केवल मेरो पाखुरामात्रै देखिने म्याक्सी लगाएकी थिएँ ।

त्यसदिन हामी दुई केही पार्टीमा सरिक भयौं । र उसको अपार्टमेन्ट गयौं । म यति धेरै थाकेकी थिएँ कि गफ गर्दागर्दै निदाएँ ।

त्यसपछि म मेरा तिघ्राहरूका बीचमा धारिलो चक्कुले प्रहार गरेझैं पीडा महसुस भएका कारण बिउँझिएँ । ऊ ममाथि थियो । ‘यो के गरेको ?’ मैले सोधेंँ । ‘केही बेरमात्रै पीडा हुन्छ,’ उसले जवाफ फर्कायो । ‘कृपया, यस्तो नगर,’ म चिच्याएँ ।

उसले मेरो अनुनय सुनेन र आफ्नो कार्य जारी राख्यो, जुन मेरालागि अत्यन्तै पीडादायी थियो । मेरा आँखाबाट आँसु डर बनेर बगिरहे ।

पछि उसले भन्यो, ‘निदाएको बेला गर्‍यो भने कम पीडा हुन्छ भन्ने लागेको थियो ।’ त्यसपछि उसैले मलाई घरसम्म गाडीमा पुर्‍याइदियो ।

मैले त्यसको उजुरी गरिन । न आफ्नी आमालाई भनेँ, न कुनै साथीहरूलाई । प्रहरीलाई भन्ने कुरै आएन । सुरुमा म चकित थिएँ । त्यो साँझ, मैले आमालाई म घर कतिबेला फर्केको थिएँ, त्यसको जानकारी दिएँ र सिधै सुत्न गएँ । मलाई अघिल्लो रात बिर्सन मन थियो ।

पछि त्यो रात जे भयो, त्यसमा मेरै गल्ती थियो भन्ने मलाई लाग्न थाल्यो । सन् १९८० को दशकमा ‘डेट रेप’का लागि कुनै भाषा नै थिएन । मलाई लाग्यो, ठूलाहरूले मलाई, त्यसको अपार्टमेन्टमा किन गएको ? उमेरमा आफूभन्दा त्यति ठूलोसँग किन घुमेको भनेर प्रश्न गर्छन् ।

मैले त्यसलाई ‘रेप’का रूपमा हेरेकी थिइन, त्यो समागम पनि थिएन । आफ्नो कुमारीत्व भंग हुँदाको क्षण ठूलो हुन्छ, नभए पनि मेरो होशपूर्ण निर्णयमा हुन्छ भन्ने सोच थियो । तर आफ्नो नियन्त्रण बाहिरको कुरा हुँदा म निकै हतास थिएँ । मेरो मनमा थियो– कुनै दिन मैले समागम गर्दा त्यो प्रेमको अभिव्यक्तिका लागि, सुखभोग गर्न वा बच्चा पाउनका लागि हुनेछ । तर त्यो कुनै पनि थिएन ।

पछि जब कलेजमा मेरा अन्य प्रेमी भए, मैले उनीहरूलाई आफू कुमारी नै रहेको भनेर ढाँटेँ । भावनात्मक रूपमा म कुमारी नै थिएँ ।

अहिले उक्त घटनाबारे सोच्दा लाग्छ, मेरो बलात्कार हुनुअघि नै मैले केही पाठ पहिले नै पाइसकेको थिएँ । म ७ वर्षको हुँदा मेरो सौतिनी बुबाको एक आफन्तले मेरो गुप्तांगमा छोएर आफ्नो उत्तेजित भएको लिंगमा मेरो हात राखेका थिए । त्यो कुरा मैले मेरी आमा र बुबालाई भन्दा उनीहरूले केही वर्षका लागि मलाई भारतमा मेरा हजुरबुबा–आमाको घरमा पठाइदिएका थिए । त्यसको पाठ थियो– बोलियो भने बाहिर परिन्छ ।

यी अनुभवले मेरो विश्वास गर्ने क्षमतामा ठूलो असर गर्‍यो । त्यसैले यसबारे मेरा एकदमै नजिकका साथीहरू र परामर्शदातासँग कुरा गर्न मलाई दशकौं लाग्यो ।

केही मानिस पुरुषले आफ्नो किशोरावस्थामा गरेका कार्यहरूको मूल्य पछि चुकाउनु हुँदैन भन्छन् । तर एउटी महिला र उसलाई प्रेम गर्ने जोकोहीले भने त्यसको मूल्य जीवनभर चुकाउनुपर्छ ।

मलाई लाग्छ, त्यो बेला ममाथि जे भयो, त्यसलाई बलात्कारको संज्ञा दिएर आवाज उठाएको भए, अरुलाई यो कुरा भनेको भए, मैले कम पीडाबोध गर्ने थिएँ । अहिले पछाडि फर्केर हेर्दा, मैले त्यो बलात्कारीलाई खुला छोडिदिएँ र आफूलाई आफ्नै नजरमा तल झारेंँ ।

अहिले मेरो ८ वर्षकी छोरी छ । वर्षौंदेखि मैले उसलाई सामान्य कुरा सिकाइरहेकी छु, जुन बुझ्न मैले जीवनको धेरै समय खर्चिएँ– ‘यदि कसैले तिम्रो गोप्य अंग छोयो वा असहज महसुस गरायो भने कराएर सबैलाई भन । त्यहाँबाट निस्क र कसैलाई भन । तिमीमाथि कसैलाई हात लगाउने अधिकार छैन । तिम्रो शरीर तिम्रोमात्रै हो ।’

म बलात्कृत भएको ३२ वषपछि बल्ल सार्वजनिक रूपमा मैले भन्न थालेकी छु । यसबाट मैले पाउने केही पनि होइन । तर यौन दुव्र्यवहारबारे बोल्नका लागि समय तोक्यौं भने हामीले धेरै गुमाउँछौं । यदि हामीले चुप लाग्नुपर्ने प्रचलनलाई नै प्रोत्साहित गर्ने हो भने युगौंदेखि पुरुषले महिलामाथि गरिरहेको हिंसालाई बढावा दिन्छौं ।

आज दैनिक हरेक ४ मध्ये एक केटी र हरेक ६ मध्ये एक केटा १८ वर्षभन्दा कम उमेरमा यौन दुव्र्यवहारको सिकार हुन्छन् । म अहिले बोलिरहेको छु र सबैजना यस विरुद्ध लडुन् भन्ने चाहन्छु । किनभने– म हाम्री छोरीहरूले यस प्रकारको डर र लाज कहिल्यै महसुस नगरुन् र हाम्रा छोराहरूले केटीहरूको शरीर आफ्नो सुखभोगका लागि होइन र दुव्र्यवहारको परिणाम भयानक हुन्छ भनेर थाहा पाउन् ।

यी सन्देशहरू स्पष्ट हुन जरुरी छ ।

द न्युयोर्क टाइम्सबाट अनुदित ।
(लक्ष्मी अमेरिकी लेखिका, अभिनेतृ मोडल तथा आप्रवासी र महिला अधिकारवादी हुन् ।)

Leave A Reply

Your email address will not be published.