‘मधेसमा सिके राउतले भ्रामक इतिहास पढाइरहेका छन्

0 195

Get real time updates directly on you device, subscribe now.

९ असोज, काठमाडौं । जनकपुरका कम्युनिस्ट नेता रामचन्द्र झा हाल नेकपाका केन्द्रीय सदस्य छन् । तर, उनले यसैसाता नगरकोटमा आयोजित एक कार्यक्रममा आफ्नै पार्टीका प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरे- ‘नेपालको भूमिमा सिँचाइ गर्नु राष्ट्रवाद हो कि पानीजहाज चलाउनु राष्ट्रवाद हो ? बालुवामा जहाज चल्छ ? यसको उत्तर मलाई दिनुहोला ।’

पूर्वमन्त्रीसमेत रहेका वामपन्थी नेता झाले मधेसमा सिके राउतले भ्रमको खेती गरिरहेको भन्दै त्यसको खण्डन गर्न नेकपाका नेताहरुले ध्यान नदिएको गुनासोसमेत गरे । नगरकोटमै अनलाइनखरसँगको विशेष अन्तरवार्तामा उनले भने-‘सिके राउतले भनिराखेको छ कि सेन बंश मधेसी थियो । यो हुँदै होइन । आफूखुशी व्याख्या गर्ने ? हामीले यस्तो भ्रामक कुराहरु सुनिरहेका छौं । तर, राज्य चलाउनेहरुले सिके राउतको भ्रामक कुराको खण्डन गरिराखेको म देख्दिनँ ।’

नेपालको इतिहासमा अहिलेसम्म मधेस र मधेसी जातिको अलग्गै अस्थित्व र भूगोल नरहेको पूर्वसांसद झाले दाबी गरे ।

नेपालको इतिहास र मधेसको वस्तुस्थितिका बारेमा अन्तर्वार्ता सुरु गर्नुपूर्व नगरकोटको सार्वजनिक कार्यक्रममा नेकपा नेता झाले व्यक्त गरेको पानीजहाजको प्रशंग सुनौं-

म अहिलेका प्रधानमन्त्रीजीको स्वर्णिम कल्पनाका बारेमा थोरै टिप्पणी गर्न चाहन्छु । पानीजहाज चल्ने अरे ! हाम्रो देशमा तीनवटा मुख्य नदी छन्- कोशी, नारायणी (गण्डकी) र कर्णाली । तीननटै नदीको जलस्तर कति छ ?

हामीले परिकल्पना गरेका छौं कि सुनकोशी-कमला डाइभर्सन बनाउने । सुनकोशी-मरिन डाइभर्सन बनाउने । कालीगण्डकी-तिनाऊ डाइभर्सन बनाउने । उता बबई-भेरी डाइभर्सन बनाउने । यी डाइभर्सनहरुमा हामीले यदि नेपालको भूमि सिञ्चाइ गर्नका लागि पानी डाइभर्ट गर्‍यौं भने यी तीन नदीमा कति पानी बच्छ र जहाज कसरी चल्छ ? जहाज बालुवामा चल्छ ?

जहाज चलाउनुको सीधा अर्थ हो कि पानीलाई सम्पूर्णरुपमा भारततिर डाइभर्ट गर्नु र नेपालको खेतमा एक थोपा पानी जान नदिनु । अनिमात्रै जहाज चल्न सक्छ । नेपालको खेतमा यदि डाइभर्सनद्वारा पानी गयो भने किमार्थ पनि जहाज चल्न सक्दैन ।

हाम्रा राष्टवादी मित्रहरुले हिसाब जोड्नुभएको छ कि छैन ? नेपालको भूमिमा सिँचाइ गर्नु राष्ट्रवाद हो कि पानीजहाज चलाउनु राष्ट्रवाद हो ? यसको उत्तर मलाई दिनुहोला ।

मधेसको राजनीतिका जानकार कम्युनिस्ट नेता झासँग गरिएको लामो वार्ता :

तपाई कसरी कम्युनिस्ट हुनुभयो ?

पञ्चायतकालमा धनुषा जिल्लाको पूर्वी छेउ, कमला खोलाको वारिपारि, सिराहाको पश्चिमी छेउ र धनुषाको पूर्वी छेउ जयगोविन्द साह र सूर्यनाथ यादवको क्षेत्र थियो । त्यो क्षेत्र सदरमुकामभन्दा धेरै टाढा थियो । त्यहाँ उत्पीडित समुदायको बाक्लै उपस्थिति थियो । हाम्रो इलाकातिर कि त काठमाडौंका जमिन्दारहरु थिए, कि महोत्तरीका र गाउँका केही जमिन्दारहरु थिए । त्यही कारणले त्यहाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा किसान आन्दोलन र संगठनको विस्तार भयो ।

मैले त्यहीँको स्थानीय हाईस्कुलबाट ९ कक्षासम्म अध्ययन गरें । त्यसपछि मडारको हाईस्कुलमा गएर एसएलसी पास गरें । त्यतिबेलैदेखि कम्युनिस्ट पार्टीप्रति लगाव भयो । नक्सलाइटका मान्छेहरु पनि त्यतिबेला भागेर धनुषामा आएका थिए । उनीहरुसँग हाम्रो यदाकदा भेट हुन्थ्यो । ग्रामीण क्षेत्रमा सूर्यनाथजीहरुले ग्रामीण वर्गसंघर्ष गरिराख्नुभएको थियो ।

पछि गएर धनुषामा तत्कालीन कोअर्डिनेशन केन्द्रको प्रभाव कम हुन थाल्यो । माधव नेपाल बिराटनगरमा बैंकमा जागिर गर्नुहुन्थ्यो, पछि जागिर छाडेर उहाँ कम्युनिस्ट पार्टीमा काम गर्न थाल्नुभयो । उहाँ धनुषाको पूर्वी भेगमा भूमिगत हुनुभयो । र, त्यहाँ मालेको प्रभाव बढ्दै जाँदा हामी ०३९ सालतिर मालेसँग आवद्ध भयौं ।

अन्तरिम संविधान बनाउने बेलामै संघीयता र गणतन्त्रलाई स्वीकारेको भए अहिले मधेसका पार्टीहरु यो हैसियतमा हुने थिएनन् । मधेसमा कांग्रेस, कम्युनिस्टहरुको राम्रो हैसियत हुन्थ्यो ।
हामीले राजनीति सुरु गरेको ०२९/०३० ताका नै हो । तर, त्यतिबेला चौथो महाधिवेशनसँग संलग्न थियौं । पछि गएर चौम टुक्रा-टुक्रा भयो । त्यहाँ लिडरहरु पनि कोही आउन छाडे । मालेका नेताहरुको अलि बाक्लै उपस्थिति हुँदै गयो । त्यसपछि हामी मालेसँगै जोडियौं ।

गाउँमा ग्रामीण वर्ग संघर्षका कारणले गर्दा मुद्दा मामिला, लडाइँ झगडा भैरहेको थियो । त्यसमा हामी प्रमुख पात्रका रुपमा संलग्न थियौं । गाउँको कमिटीमा हुँदै हामी इलाका कमिटीमा संलग्न हुँदै आयौं ।

यसवीचमा मेरो पढाइ छुट्यो । इण्डियाको मघौलीबाट इन्टरको परीक्षा दिएर घरमा आएको थिएँ । मुद्दामामिला, खेतीपाती इत्यादिमा संलग्न भएँ । पछि छुटेको पढाइलाई जोड्नुपर्‍यो भनेर १९८२/८४ को सेसनमा दरभंगाबाट ग्राजुएसन गरें । त्यसलगत्तै ०८४/०८६ को सेसनमा भागलपुर विश्वविद्यालयबाट मास्टर डिग्री गरें ।

मास्टर डिग्री गरेर फर्केर आएपछि त्रिवि सेवा आयोगको विज्ञापन निस्किएको थियो, त्यसमा मैले लेक्चररको पदको परीक्षा दिएँ । त्यहीवीचमा ०४६ सालको जनआन्दोलन सुरु भयो । तत्कालीन मालेको चौथो महाधिवेशन सिराहामा भएको थियो, त्यहाँबाट संयुक्त जनआन्दोलन गर्ने निर्णय भयो । त्यसको केही महिनापछि आन्दोलन सुरु भयो । जिल्लाको नेतृत्व गर्नेगरी पार्टीले मलाई जिम्मेवारी दियो । त्यसपछि हामीले जनआन्दोलनमा भूमिका निभायौं ।

त्यसपछि मैले तीनचोटि तत्कालीन नेकपा एमालेको धनुषा जिल्लाको प्रमुख भएर काम गरें । ०५४ देखि केन्द्रीय कमिटी सदस्य भएँ । १३ वर्षजति जनकपुरको अञ्चल इञ्चार्ज भएर पनि बसें । मेरो कम्युनिस्ट पृष्ठभूमिको स्थिति यही नै हो ।

विद्यार्थी छँदाखेरि बाहिरबाट आएका लिडरहरुको सम्पर्कका कारणले गर्दा कम्युनिस्ट राजनीतितिर झुकाव भयो । पछि खेतीपाती थाल्दा त्यहाँको वर्ग संघर्षसँग पनि जोडियो । गाउँमा उत्पीडनविरुद्ध लाग्ने क्रममा कम्युनिस्ट पार्टीमा लागियो ।

तराईमा विसं. २०१२ सालतिरै किसान आन्दोलनमा कम्युनिस्ट पार्टीको अग्रणी भूमिका थियो भन्ने सुनिन्छ । तर, पछि मधेसलाई नेपाली कांग्रेसले आफ्नो गढ बताउन थाल्यो । तपाईहरुका पालासम्म आइपुग्दा मधेस कांग्रेसको गढ थियो कि कम्युनिस्टको ?

कम्युनिस्ट नेता विष्णुबहादुर मानन्धरको प्रभाव सहरको छेउछाउमा थियो । अनकन्टार गाउँमा चौम (निर्मल लामा, मोहनविक्रम) को प्रभाव थियो । पछि त्यहाँ मालेको पनि प्रभाव विस्तार भयो ।

तर, मधेसलाई त कांग्रेसले हाम्रो आधार क्षेत्र हो भन्दै आएको छ नि ?

००७ साल र त्योभन्दा पहिलेदेखि नै कांग्रेससँग सम्वद्ध सुखी, सम्पन्न, जमिन्दारहरु थिए । हुनेखानेहरु थिए । जमिन्दार वर्गका मान्छेहरु कांग्रेससँग आवद्ध थिए । कांग्रेसको नेतृत्वमा ००७ सालमा क्रान्ति भयो । विराटनगरदेखि वीरगञ्जसम्म कांग्रेसको नेतृत्वमा नै राणाविरोधी आन्दोलन भएको थियो । त्यस मानेमा जमिन्दार र धनी किसानहरुको वीचमा कांग्रेसको उपस्थिति थियो ।

तर, कम्युनिस्ट पार्टीलेे किसान आन्दोलनदेखि लिएर विभिन्न वर्गसंघर्षका आन्दोलनहरु चलाउँदाखेरि उत्पीडित तल्लो वर्गमा संगठन विस्तार हुँदै गयो । कम्युनिस्ट पार्टीले भूमिगत काम गर्दाखेरि राजमार्गको छेउछाउमा उसको संगठन सीमित थियो । धनुषामा त तलतिर पनि थियो । तर, अरु जिल्लामा चाहिँ कम्युनिस्ट पार्टी राजमार्गको छेउछाउमा सीमित थियो । पछि हामीले संगठन गर्दैजाँदा जिल्लाव्यापीरुपमा विस्तार भयो । ०४६ सालपछि हामीले कम्युनिस्टको संगठन जिल्लाव्यापीरुपमा विस्तार गरेका हौं ।

त्यसबेलासम्म तराई क्षेत्र कांग्रेसको बिर्ताजस्तै थियो । त्यहाँ कम्युनिस्ट पार्टीले प्रतिस्पर्धा गर्नु निकै जोखिमपूर्ण थियो । दबाउने र उत्पीडिन गर्ने गरिन्थ्यो । त्यसवीचमा पनि हामीले लडेर कम्युनिस्ट पार्टीको संगठन कांग्रेसको हाराहारी बनायौं । कहिले कांग्रेसभन्दा बेस, त कहिले हाराहारी संगठन बनायौं ।

पञ्चायती व्यवस्था सुरु हुनुअघि भद्रकाली मिश्रले कांग्रेस छाडेपछि मधेसमा नेपाली कांग्रेसको प्रभाव केही कमजोर बनेको हो ? त्यसबाट कम्युनिस्टहरुलाई संगठन बढाउन फाइदा पुग्यो कि पुगेन ?

भद्रकालीसँग आफ्नै अन्तरविरोध थियो । उहाँले कांग्रेस छाड्नुभयो र ०१५ सालको चुनावमा छुट्टै पार्टी बनाएर उठ्नुभयो । उहाँ महोत्तरी पि्रप्राको ठूलो जमिन्दार हुनुहुन्थ्यो । धनुषा र महोत्तरी त्यतिबेला एउटै जिल्ला थियो । उहाँ महोत्तरीको जमिन्दार हुनुहुन्थ्यो । त्यसैले वर्गीय हिसाबले उहाँसँग हाम्रो कुनै साइनो सम्बन्ध हुने कुरै भएन ।

त्यसले कांग्रेसलाई पनि कुनै प्रभाव पारेन । उहाँले कतै-कतै उम्मेदवारहरु त उठाउनुभयो, तर चुनावमा कांग्रेसलाई खासै घाटा लागेन भन्ने मैले सुनेको छु । मलाई ०१५ सालका बारेमा त्यति धेरै ज्ञान छैन, किनभने म ०११ सालमा जन्मेको मान्छे हुँ ।

०४६ को परिवर्तनपछि मधेसमा गजेन्द्रनारायण सिंहले सदभावना पार्टी स्थापना गरेपछि त्यसले कम्युनिस्ट र कांग्रेसमा कस्तो असर पार्‍यो ? र, त्यसले मधेसको वाम आन्दोलनलाई फाइदा पुर्‍यायो कि घाटा ?

गजेन्द्रनारायण सिंहजीले सदभावना पार्टी स्थापना गर्नुभो । यहाँ ०४६ को जनआन्दोलनमा खुलेर बहुदलको पक्षमा लाग्न सक्नुभएको थिएन ।

तर, बहुदल त आइहाल्यो । पछि उहाँले मधेसीको मुद्दा लिएर सदभावना परिषद बनाउनुभयो र त्यसैलाई क्रमशः पार्टीमा रुपान्तरण गर्नुभयो ।

सुरुमा सदभावना पार्टीमा बाहिर जागिर खाने तराई क्षेत्रका मानिसहरुको आकर्षण देखिएको थियो । जो पहाडतिर जागिर खान्थे, तिनीहरुप्रति पहाडमा जुन भेदभावको व्यवहार गरिन्थ्यो, त्यसले गर्दा उताबाट पीडित भएर आएकाहरु सदभावनासँग जोडिन थाले । यो क्रम ०६१ सालसम्म त्यही रुपमा थियो ।

पछि माओवादीले मधेसी मोर्चाको गठन गर्‍यो । त्यसले पनि थोरै स्पेस लिन थाल्यो । हुनत माओवादीको संगठन पनि त्यहाँ चौथो महाधिवेशनदेखि नै थियो । मोटो मशालको संगठन पनि थियो । जनयुद्धताका उनीहरुले संगठन विस्तार गरे । त्यसपछि मधेसी मुक्ति मोर्चाको नामले पनि तराईमा संगठन विस्तार भयो ।

तर, ०६१ सालपछि सदभावना पार्टी भन्दा पनि मधेसी जनअधिकार फोरम अन्तरिम संविधानको विरोधमा आयो । फोरमले गरेको आन्दोलनको आह्वानमा मधेसी समुदाय जुट्दै गए । र, उनीहरु आफूप्रति हुँदै आएको भेदभाव र उपेक्षाको विरोधमा सशक्त ढंगले लागे । र, मधेसकेन्द्रित दलहरुले स्पेस बनाए ।

मधेसमा फोरमको स्पेस कसरी बन्यो ?

दुई/तीन ढंगले स्पेस बन्यो ।

पहिलो कुरा, जो राजतन्त्रका पक्षधरहरु थिए, ०६२/०६३ को आन्दोलनबाट उनीहरु पछाडि परे । राजतन्त्र साइजमा आउने स्थिति बनेपछि गाउँतिर राप्रपामा आवद्ध जो व्यक्तिहरु थिए, तिनीहरु अब पछाडि परियो, भूमिका कसरी खेल्ने भनेर सट्ट मधेस आन्दोलनमा लागे । र, मधेसीको अधिकारका लागि चर्को ढंगले बोल्न थाले । यसले गर्दा उनीहरुले हिजो राजतन्त्रको पक्षमा लागेर गरेको प्रतिगमनको दाग पखालियो । मधेस आन्दोलनका नाममा उनीहरुले त्यो दाग पखाल्ने स्थिति बन्यो ।

कतिपय मान्छेले मधेसी र पहाडेका वीचमा द्वन्द्व फैलाउने हिसाबले विभिन्न शक्तिकेन्द्रहरुबाट पनि भूमिका खेल्ने काम हुन थाल्योे । यसले गर्दा पनि फोरमले त्यहाँ स्पेस बनाउन सफल भयो । उपेन्द्र यादवको नेतृत्वमा फोरमले स्पेस बनाउँदै गयो । सदभावना पार्टीसँग आवद्ध राजेन्द्र महतोहरु पनि हुनुहुथ्यो, उहाँहरु पनि सात दलको आन्दोलनमा सहभागी हुनुहुन्थ्यो । यस मानेमा उहाँहरुले पनि आफ्नो गतिविधि बढाउनुभयो र आफूलाई जोड्नुभयो ।

तराई मधेसमा सदभावना र फोरमले यसरी स्पेस बनाउनुका पछाडि कांग्रेस र कम्युनिस्टहरुको गलत नीतिले पनि काम गरेको छ कि ?

पछिल्लो समयमा कांग्रेस र कम्युनिस्टहरुले गल्ती के गरेका हुन् भने संघीय शासन प्रणालीप्रति त्यतिबेला स्पष्ट दृष्टिकोण लिन सकेनन् ।

त्यतिबेलाको आन्दोलनमा एमालेको जनकपुर इञ्चार्ज भएका नाताले मेरो सक्रिय नेतृत्व थियो । ०६२/०६३ को आन्दोलनको केन्द्र जनकपुर पनि थियो । जनकपुरमा ७ दलको ठूलो आमसभा हुँदाखेरि काठमाडौंमा सय/दुईसय जनामात्रै मानिसहरु निस्किइरहेका थिए । जनकपुरको सभामा भने हामीले सात दलको सभामा बाह्रविघा मैदानमा लाखौंको उपस्थिति गरायौं ।

सिके राउतले खेल्ने ठाउँ पाइरहेको छ । संविधानमा यदि असन्तुष्टिहरुलाई सम्वोधन गर्ने काम भएको भए यो असन्तुष्टि विखण्डनकै विन्दुसम्म पुग्ने स्थिति हुने थिएन ।
जनआन्दोलन सफल भएपछि अन्तरिम संविधानमा हाम्रो पार्टी (एमाले) बाट फिडब्याक दिने सन्दर्भमा भरतमोहनजीको नेतृत्वमा एउटा कमिटी बनेको थियो । त्यसमा सुरुदेखि नै मसँग केही साथीहरुको मतान्तर भयो । मैले अन्तरिम संविधानको प्रस्तावनामा संघीय शासन प्रणाली, समावेशी लोकतन्त्र गणतन्त्र र धर्मनिरेपक्षता समेतलाई लेख्ने सुझाव हाम्रो पार्टीको तर्फबाट जाओस् भनेर अड्डी लिएको थिएँ ।

तर, तराईबासी समुदायबाट म एक्लै थिएँ । भरतमोहनजी पनि धेरै निर्णायक ढंगले प्रस्तुत हुन सक्नुभएन । पछि कार्यदलको प्रतिवेदनमाथि केन्द्रीय कमिटीमा छलफल हुँदाखेरि पनि मैले पटक-पटक कुरा उठाएँ । तर, यो पछि हुने कुरो हो, यो संविधानसभाबाट हुने कुरो हो, अहिले नै नलेखौं भने नेताहरुले ।

मैले त्यसबेला यही शब्द भनेको थिएँ- त्यसोभए यो अन्तरिम संविधान तराईले स्वीकार गर्दैन । र, त्यसपछि यी पार्टीहरुको हैसियत पनि उलटफेर हुन्छ । हेर्नुहोला, तराईमा आन्दोलन उठ्छ र तपाई हाम्रो पार्टीको हैसियत पनि उलटफेर हुन्छ । आखिर भयो पनि त्यही । अन्तरिम संविधानमा संघीयता र गणतन्त्र उल्लेख हुन नसकेपछि आन्दोलन भयो ।

त्यसबेला कांग्रेस, एमाले र माओवादीले अन्तरिम संविधान बनाउँदैखेरि ध्यान दिएको भए मधेसमा यसरी मधेस केन्दि्रत दलहरुको उदय हुने थिएन भन्न खोज्नुभएको हो ?

अन्तरिम संविधान बनाउने बेलामै संघीयता र गणतन्त्रलाई स्वीकारेको भए अहिले मधेसका पार्टीहरु यो हैसियतमा हुने थिएनन् । मधेसमा कांग्रेस, कम्युनिस्टहरुको राम्रो हैसियत हुन्थ्यो । मधेसकेन्द्रित दलहरुले यो स्थितिमा शक्ति वा स्पेस बनाउन सक्ने थिएनन् ।

तर, नेताहरुले त्यसबेला हाम्रा कुरा एक शब्द पनि सुन्न चाहनुभएन । त्यसपछि म मर्माहित भएर चुप लागेर बसें । तर, जनकपुरतिर भने हामी आन्दोलनमा सामेल थियौं । हामीले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणको कुरा अगाडि बढायौं । संघीय शासन प्रणाली लागू हुनुपर्छ भन्ने नाराहरु लिएर हामी आफ्नो कार्यक्षेत्रमा आन्दोलित नै थियौं ।

हामी आ-आफ्नो हिसाबले आफ्नो पार्टीको अस्थित्व रक्षा गर्ने गरी लागिरह्यौं । त्यसैले संविधानसभा चुनावमा मधेस आन्दोलनले अरु जिल्लामा धेरै तलमाथि भए पनि धनुषामा एमालेलाई धेरै क्षति भएन । हामीले त्यहाँ चुनाव जित्यौं । एमालेको इज्जत जोगाएर हामीले प्रतिनिधित्व गरायौं ।

संविधानसभामा तत्कालीन एमालेले खेलेको भूमिकालाई चाहिँ कसरी विश्लेषण गुर्नहुन्छ ?

पहिलो संविधानसभामा हाम्रो भूमिका ठिकठिकै थियो । झलनाथजी अध्यक्ष हुनुभो । मेरो नेतृत्वमा संसदीय दलको एउटा कार्यदल बनेको थियो, जसको संयोजक म थिएँ, त्यसमा मंगलसिसद्धि मानन्धर लगायतका अरु साथीहरु हुनुहुन्थ्यो ।

त्यसले पार्टीलाई संविधानसभाका तत्कालीन एमालेको पोजिसनबारे प्रतिवेदन दियो । त्यो प्रतिवेदन अनुसार राज्य पुनसंरचना समितिमा भोटिङ पनि भयो । एमालेतर्फबाट हामी ७ जना थियौं । एमाले र माओवादीलाई मिलाएर हाम्रो बहुमत पनि भयो ।

हामीले त्यो समितिबाट निर्णय गरेर सुझाव पठायौं । यद्यपि हामीलाई सहमति बनाउन समय अलिकति कम भयो । सुवासजी छिटो राज्य पुनसंरचनाको प्रतिवेदन आउनुपर्‍यो भनेर हतार गर्दै हुनुहुन्थ्यो । हामी भनिरहेका थियौं कि असहमतिलाई सहमतिमा ल्याउन अलिकति समय दिनोस् । मधेसकेन्द्रित दलहरुले नोट अफ डिसेन्ट लेखेर समितिको बैठकमा भोटिङ बहिस्कार गरे । उनीहरुको माग एक मधेस, एक प्रदेशको रह्यो । त्यतिबेला हामीले मधेस क्षेत्रमा मूलतः दुईवटा प्रदेशको निर्णय गरेर पठाएका थियौं ।

यसरी राज्य पुनसंरचनामै सहमति जुट्न नसकेकाले संविधानसभा नै विघटन हुन पुग्यो । कम्तिमा एक साता समय दिनुभएको भए यो स्थिति आउने थिएन । यदि मधेसकेन्द्रित दलहरु हाम्रो निर्णयमा सहभागी भएको भए सम्भवतः दोस्रो संविधानसभाको आवश्यकता पर्दैनथ्यो । र, एउटा माहौल बन्थ्यो ।

मधेसको सहमति भएको र एमाले माओवादीको पनि सहमति भएको भए कांग्रेसले एक्लै नोट अफ डिसेन्ट लेखेर बिगार्न सक्दैनथ्यो । तर, मधेसकेन्द्रित दलहरुले बहिस्कार गरे, जसले गर्दा अल्पमतमा परेको कांग्रेसले पनि नोटअफ डिसेन्ट लेख्यो । पछि आयोग हुनुपर्छ भन्न थालियो, हाम्रो केन्द्रीय कमिटी पनि त्यसैमा सामेल भयो ।

दोस्रो संविधानसभामा नि ?

दोस्रो संविधानसधभाबाट संविधान बनेको छ । धेरै कुरा त हामीले पहिलो संविधानसभामै आधारहरु बनाएका थियौं । संविधान त बन्यो, तर असन्तुष्टिहरु अहिले पनि सम्वोधन हुन सकेका छैनन् । यी असन्तुष्टिहरुमाथि अहिले खेल्ने ठाउँ भएको छ । मुलुकलाई विखण्डनसम्म गर्ने सिके राउतजस्ता प्रवृत्ति छन् । त्यस्ता पर्दा पछाडिबाट कहाँ कसको सहयोग छ, त्यो त अनुमानको विषय हो ।

तर, त्यो खेल्ने ठाउँ सिके राउतले पाइरहेको छ । संविधानमा यदि असन्तुष्टिहरुलाई सम्वोधन गर्ने काम भएको भए यो असन्तुष्टि विखण्डनकै विन्दुसम्म पुग्ने स्थिति हुने थिएन ।

पहिले नै तपाईहरुले दिएको सुझाव पार्टीले नसुन्दा त्यसको प्रभावस्वरुप मधेसकेन्द्रित दलहरु शक्तिमा उदाए । अब संविधान बनिसकेपछि मधेसमा देखिएका असन्तुष्टिहरुका प्वालहरु नटाल्ने हो भने त्यसको प्रभाव के कस्तो पर्ला ?

हेर्नोस्, दूरदृष्टि राख्ने हो र समस्याहरुको समाधान पहिले नै खोज्ने हो भने मुलुकलाई कुनै अन्यथा र क्षति हुने स्थिति आउँदैन । तर, अहिले पनि संविधान संशोधनको मुद्दा त आफ्नो ठाउँमा उठि नै राखेको छ । तर, यो विषयलाई सरकारले त्यति महत्व दिएको जस्तो देखिँदैन ।

फेरि, यसमा जटिलताहरु पनि के छन् भने सीमांकनको कुरामा मधेसकेन्द्रित दलहरुले पनि धेरै हठ गरेर यो मुद्दालाई कति भँजाएर खाने ? कोशीपूर्वका मानिसहरु दुई नम्बर प्रदेशमा मिसिन चाहँदैनन् भने जोरजबरजस्ती गरेर के फाइदा ? त्यसलाई स्वीकार गर्नुपर्छ । कि त कोशीभन्दा पूर्वको जनमतलाई दुई नम्बर प्रदेशमा आउने बनाउनुपर्‍यो । त्यो त मधेस केन्द्रित दलहरुले गर्न सकेका छैनन् । खाली नारायणीभन्दा पूर्व र कोशीभन्दा पश्चिमको जनमतलाई आन्दोलित गर्दै यही भेगमा आन्दोलन भयो । पश्चिममा कैलालीसम्म आन्दोलन त भयो, तर जुन उचाइमा हुनुपर्ने हो, त्यो उचाइमा पश्चिममा हुन सकेन ।

त्यसैले यो विषयलाई तत्काल समाधान गरेर अरु अधिकारका विषयहरुमा जायज छन् भने कम्युनिस्ट पार्टीले पनि मानिदिनुपर्छ । कम्युनिस्ट पार्टी उत्पीडित समुदायको अधिकारका लागि गठन भएको पार्टी हो । यसमानेमा उत्पीडनमा परेकाहरुको हकमा केही काम गरेमा कम्युनिस्ट पार्टीको राम्रै आधार बन्ला । त्यसैले यो समस्यालाई समाधान गरेर अगाडि बढ्दा राम्रो हुन्छ ।

तर, सरकारले के कसरी गरिरहेको छ, अहिले म निर्णायक तहमा छैन । नेकपाको केन्द्रीय कमिटीको सदस्य त छु, तर बैठक कति महिनामा बस्छ, त्यतिबेला आफ्नो सुझाव राखौंला ।

हामीले यहाँसँग सोध्न खोजेको कुरा के हो भने हिजो कांग्रेस, एमाले र माओवादीले समयमै बुद्धि नपुर्‍याउँदा मधेसमा मधेसकेन्द्रित दलहरु उदाए । अब फेरि मधेसको असन्तुष्टिलाई बेलैमा सम्वोधन गरिएन भने मधेसकेन्द्रित दलहरुप्रति नै जनताको वितृष्णा बढ्ने र विखण्डनकारीलाई बल पुग्ने खतरा कत्तिको देख्नुहुन्छ ?

यो स्थिति त देखिएको छ । अस्ति ३ गते एकातिर मुलुक संविधान दिवस मनाइरहेको थियो, म त्यो दिन जनकपुरमै थिएँ । त्यहाँ संविधानको पार्टीमा सरकारी पार्टीहरुले पनि गतिविधि गर्न सकेनन् । प्रदेश सरकारले पनि गर्न सकेन । उल्टै सिके राउतले आयोजना गरेको कार्यक्रममा ठूलो उपस्थिति देखियो । सिके राउत त्यहाँ आए र भाषण गरे । प्रहरीले रोक्न पनि सकेन । उनीहरुले आफ्नो गतिविधि निर्भिक ढंगले गरे ।

यो स्थितिप्रति राज्य चिन्तित हुनुपर्ने हो । त्यहाँ संविधानको पक्षमा मानिसको उपस्थिति देखिएन । बरु मुलुककै विखण्डनको पक्षमा चाहिँ ४/५ हजार मानिसहरुको उपस्थिति भएको हामीले सुन्यौं । यसरी राज्यप्रति वितृष्णा बढ्दै जाँदा विखण्डनवादले मौका पाउँछ ।

तपाई मधेस मामिला राम्रोसँग बुझेको नेता हुनुहुन्छ । तपाईको विचारमा मधेसमा बढ्न थालेको विखण्डनवादको खतरालाई रोक्ने उपाय के-के हुन सक्ला ?

म यो लोकप्रिय अनलाइनमार्फत केही सुझावहरु दिन चाहन्छु-

पहिलो सुझाव के छ भने यो मुलुकको कसरी निर्माण भएको छ ? यो मुलुकको ऐतिहासिक पृष्ठभूमि के हो ? यसबारेमा छलफल हुनुपर्छ ।
मैले जानेसम्म र नेपालको इतिहास पढेसम्म गोपालबंशीहरु सुरुमा तराई क्षेत्रबाट अर्थात कोशीदेखि पश्चिम र गण्डकदेखि पूर्वको क्षेत्रबाट गाईवस्तु लिएर काठमाडौंमा चरन क्षेत्रको खोजीमा आए ।

त्यही क्रममा भूमि गुप्त (यादव समुदायका गोप) भन्ने व्यक्तिले नेपाल नामक राष्ट्रको पहिलो निव राखेका हुन् । र, उनी तराईबासी हुन् । त्यो गोपाल वंश र महिषपाल बंश दुईवटै मिलाएर नेपालमा पौने ७ सय वर्ष शासन गरे । राज्यको प्रारम्भिक चरणका सम्पूर्ण कुराहरु, वस्ती बसाल्नेदेखि लिएर राज्य सञ्चालन गर्ने, नेपालको नामाकरण गर्ने अनि पशुपतिको स्थापना गर्ने कामहरु उनीहरुले नै गरे ।

सुगौली सन्धीको क्रममा मात्रै मधेस भन्ने शब्दावलीको प्रयोग भयो । त्यो भन्दा पहिले कतै मधेस शब्दको प्रयोग भएको कुनै इतिहासमा छैन । कुनै मधेस भन्ने टेरोटेरी आजसम्म तराई भागमा कतै थिएन ।
त्यसपछि उपत्यका वरिपरि छरिएर रहेका आदिवासी किरातहरुले महिषपालबाट कब्जा गरेर लगभग ८/९ सय वर्ष काठमाडौंमा राज्य चलाए ।
तेस्रो चरणमा लिच्छविहरु गंगाको छेउबाट आए । चित्र गुप्त मौर्यका पुत्र अजात शत्रुको आक्रमणबाट भागेर लिच्छविहरु नेपालमा आए । उनीहरुले किरातबाट राज्य खोसेर लगभग ९ सय वर्ष शासन गरे ।

त्यतिबेला उनीहरुले मानदेवको नेतृत्वमा मुलुकको विस्तार गरे । यो राष्ट्रको स्थापना गोपालबंशीहरुले गरे । तर, यसको पहिलो विस्तार लिच्छवीहरुले गरे । मानदेवको नेतृत्वमा रहेको सेनाले गण्डक पारि गएर कर्णालीसम्मको भाग नेपालमा मिसायो । उता पूर्वतर्फ अरुण तमोरसम्मको भागलाई नेपालमा मिसाए ।

दोस्रो चरणमा वृषवदेवका पालामा उनकी छोरी कुमारीदेवीको बिहे भारतका गुप्त बंशका चन्द्र गुप्त प्रथमसँग भयो । त्यसबाट जन्मेका छोरा समुद्र गुप्त भारतका एकदमै वैभवशाली शासक थिए । चन्द्रगुप्त र समुद्र गुप्तका पालामा यहाँका लिच्छवीसँग साइनो गाँसियो । यसले गर्दा उनीहरुको मद्दतबाट यो राज्यको विस्तार पश्चिमको कामरुप कामाक्षादेखि लिएर उता काश्मीरसम्म अनि यता गंगादेखि लिएर तिब्बतसम्म यो भाग नेपाल नामबाट दोस्रो शताब्दीदेखि लिएर सातौं शताब्दीको पहिलो चरण अंशुवर्माका पालासम्म भयो ।

भारतको इतिहासमा तपाई जानोस्, भारतको प्राचीन इतिहास खोज्नोस्, त्यहाँ तपाई पाउनुहुन्छ कि गुप्त बंशको कालमा यो नेपाल भन्ने भूभाग गंगाभन्दा उत्तर, तिब्बत भन्दा दक्षिण, उता कामरुप कामाक्षा भन्दा पश्चिम र कश्मीरभन्दा पूर्व यो विशाल भाग नेपाल थियो । अंशुवर्माका पालासम्म, सातौं शताब्दीको सुरुसम्म थियो ।

त्यसैले ऐतिहासिकरुपमा म भन्छु, राज्यले यो खण्डन किन गर्न सकेको छैन ? यी कम्युनिस्ट पार्टीका मान्छेहरुले आफ्नो कुरा दृढतापूर्वक किन भन्न सकेका छैनन् ? त्यहाँ कुनबेला मधेस नामको राज्य थियो ? मधेस नामक राज्य थिएन । मधेसी भनेको सेन्टिमेन्ट थियो, कुनै हिस्ट्री छैन ।

मधेसको हिस्ट्री कतिबेला भयो भने यो सुगौली सन्धीको क्रममा मात्रै मधेस भन्ने शब्दावलीको प्रयोग भयो । त्यो भन्दा पहिले कतै मधेस शब्दको प्रयोग भएको कुनै इतिहासमा छैन । कुनै मधेस भन्ने टेरोटेरी आजसम्म तराई भागमा कतै थिएन । मधेस भन्ने टेरोटेरी थिएन ।

अहिले आएर एउटा आन्दोलनबाट मधेस.. मधेसको कुरा हुन लाग्यो । यहाँ काठमाडौंका नेवार र पहाडेहरुले हामीलाई मधेसी… मधेसी भन्न थाले । अनि हामीले पनि आफूलाई मधेसी हुँ भनेर भन्न थाल्यौं । हुँदा-हुँदा नभएको नाम मधेस भो ।

तराई भागलाई तराई क्षेत्र भन्नुपर्ने हो । मिथिला क्षेत्र भन्नुपर्ने हो । कुनैबेला त्यो तिरहुत थियो, मिथिला थियो । विदेह गणराज्य थियो । पश्चिममा शाक्य गणराज्य थियो । तर, मधेस नामक गणराज्य कतै थिएन । तर, अहिले आएर इतिहासमा नभएको मधेस… मधेस पढाइरहेको छ सिके राउत, जसलाई राज्यले खण्डन गर्न सकेको छैन । कम्युनिस्ट पार्टीले उसलाई चुनौती दिन सकिराखेको छैन ।

मधेसमा केही साताअघि नेकपाले मार्क्सवाद पढाउन सुरु गरेको सुनिएको थियो नि ?

त्यसबेला मेरो विषय के थियो भने वर्गीय आन्दोलनमा देखिएका समस्याहरु के के हुन् ? अहिले जातीय आन्दोलन नै वर्गीय आन्दोलनको मार्गमा देखापरेको मुख्य समस्या हो । थोरै धार्मिक समस्या पनि छ । सांस्कृतिक समस्या पनि छ ।

त्यसपछि मधेसको समस्या, मधेसको भ्रमित इतिहासको समस्या पनि छ । भ्रमयुक्त इतिहास जुन हो, त्यो इतिहासमा मधेसी भनेर अभिजात्य वर्गहरुले मधेसकेन्द्रित दलसँग आफूलाई एशोसिएट गरेका छन् ।

आम सर्वसाधारणलाई लागेको छ कि पहाडेहरुले हामीलाई शोषण गरे, त्यस्ताहरु पनि भ्रमका पछि लागेका छन् । उनीहरुलाईर् हामीले बुझाउनुपर्ने छ कि पहाडे पनि शोषित छन्, मधेसी पनि शोषित छन् । शोषितको पक्षमा कम्युनिस्ट पार्टी लागिरहेको छ भनेर बुझाउन सकिराखेको स्थिति छैन ।

कम्युनिस्ट पार्टीका मान्छेहरुले यो देश राजा महाराजाहरुले बनाएको होइन, गाई चराउने मान्छेहरुले स्थापना गरेको हो भन्ने दृढतापूर्वक दाबी गर्नुपर्ने हो । यसरी श्रमजीवीले यो देश बनाएको दाबा गर्न सक्ने हो भने कम्युनिस्ट पार्टीको राजनीति बलियो हुन्थ्यो । लिच्छवीहरुले आएर राज्य विस्तार गरेका हुन् भन्ने भावना मधेसी अथवा तराईबासीहरुमा बसाउन सकियो भने यो मुलुक हाम्रा पूर्खाहरुले आर्जेका हुन् भन्ने तराईबासीहरुले बुझ्छन् ।

अहिले हाम्रा सिनियर नेताहरु पृथ्वीनारायण शाहले राज्य बनाएको र विस्तार गरेको बताइरहेका छन् । तर, पृथ्वीनारायण त बहुत पछिल्लो कालमा हो । पृथ्वीनारायण शाह त २७० वर्ष पहिलेका हुन् । यो राज्यको स्थापना त ३७ सय वर्ष पहिले नै भएको हो । र, तराईबासीहरु नै यो राज्यका संस्थापक हुन् । यसको विस्तार पनि लिच्छवीको समयमा अत्यधीक विस्तार भएको थियो । यी विषयमा चर्चा गरिँदैन र भ्रमयुक्त इतिहासको मात्रै चर्चा गरिँदैछ ।

प्रष्ट छ कि लिच्छवीहरु गंगाको उत्तरी किनारामा बैशाली उनीहरुको मूल थलो थियो । त्यो विशाल गणराज्य थियो । पछि मिथिला तिरहुत त्यसको अंगका रुपमा हुन गयो । उत्तरमा तिब्बतको सीमानासम्मको यो भाग दोस्रो शताब्दीदेखि लिएर सातौं शताब्दीसम्म एक ठाउँमा थियो । लिच्छवीहरुको पतनपछि साना साना बंशहरु आए । त्यसपछि १०९१ मा कर्नाटनबंशीहरुको आगमन भयो । सिम्रौनगढमा उनीहरुको राजधानी भयो ।

११ औं शताब्दीदेखि पूर्वतिरबाट आएका सेनहरुले भित्री मधेसमा आधिपत्य जमाए । उनीहरु पूर्वबाट बुटवलसम्म गए । पछि गयाशुद्धिनको आक्रमण हुँदा कर्नाटक बंशको पतन भयो र सेन बंशको अधीनमा गयो । सेन बंशले लगभग ४५१ वर्ष राज्य गरे । त्यसपछि पृथ्वीनारायण नारायण शाहको उदय भयो ।

मलाई लाग्छ, मधेस नामक राज्य कतै थिएन । लगभग ५६ पुस्तासम्म त विदेह गणराज्य थियो । वीचमा गुप्त बंशको उदय हुँदाखेरि लिच्छविको राज्य भयो । उता पनि नेपालकै नामबाट लिच्छवीहरुले करिब ५ सय वर्षसम्म शासन गरे । त्यसपछि पाल बंशको उदय भयो । त्यसपछि सानासाना बंशहरु भए । पछि २३० वर्षसम्म कर्नाटक बंशले राज्य गरे । त्यसपछि सेन बंश आयो ।

मसँग विकल्प थियो कि एमाले छाडेर मधेसकेन्द्रित दलमा जाने । तर, मधेसकेन्द्रित दलको आइडियोलोजीसँग म सहमतै छैन ।
सेन बंशका बारेमा पनि सिके राउतले भनिराखेको छ कि सेन बंश मधेसी थियो । यो हुँदै होइन । सेन बंश बंगालबाट आएको हो । अहिले पनि त्यहाँ सेनहरु छन् । सेनहरु बंगालको बसारबाट पश्चिमतर्फ आक्रमण गर्दै गंगाबाट डुंगा लिएर कटिहार हुँदै आए । उनीहरु विजयपुर, चौदण्डी हुँदै पश्चिमको बुटवलसम्म पुगे । अर्घाचाँची, पाल्पासम्म सेन बंशीहरुले राज्य गरे । कर्नाटक बंशको पतनपछि तल तराईको भाग पनि सेन बंशको अधीनमा आयो ।

मधेसमा राजा त थिएनन् । राज्य, शासक त थिएनन् । जनता त तराईबासी हुन्, तर सेन बंश मधेसी थिए भनेर आफूखुशी व्याख्या गर्ने ? हामीले यस्तो भ्रामक कुराहरु सुनिरहेका छौं । तर, राज्य चलाउनेहरुले सिके राउतको यो भ्रामक कुराको खण्डन गरिराखेको म देख्दिनँ ।

मधेस र देशको इतिहासपछि फेरि तपाईको व्यक्तिगत विषयमै फर्कौं । अन्तरिम संविधानकै बेलादेखि तपाईले राखेका कुराहरु तत्कालीन एमालेले सुनुवाइ नगरेको र चित्त दुःखेको तपाईले बताइसक्नुभयो । यसवीचमा तपाई एमाले छाडेर माओवादीमा किन प्रवेश गर्नुभयो ? एमालेसँग चित्त दुखेरै हो त ?

मैले अघि नै स्पष्ट गरिसकें । म कम्युनिस्ट पार्टीको धरातलबाट उम्रेको मान्छे हुँ । कम्युनिस्ट राजनीति मेरो नशा नशामा व्याप्त छ । मसँग विकल्प थियो कि एमाले छाडेर मधेसकेन्द्रित दलमा जाने । तर, मधेसकेन्द्रित दलको आइडियोलोजीसँग म सहमतै छैन । उनीहरुको गतिविधि, संगठनात्मक संरचना र उनीहरुको नेतृत्वसँग म सहमतै छैन ।

रह्यो माओवादी । यो पार्टीका बारेमा पनि मेरो प्रष्ट धारणा के थियो भने मैले त्यतिबेलै भनेको थिएँ कि आगामी दिनमा एमाले र माओवादीहरु एक ठाउँमा आउँछन् । यिनीहरु आपसमा मिल्नैपर्छ । आखिर भयो पनि त्यही । मैले यो ०६९ सालमै भनेको थिएँ । तपाईले मेरो त्यो अन्तरवार्ता युट्युबमा हेर्न सक्नुहुन्छ ।

फेरि माओवादी छाडेर नयाँ शक्ति पार्टीमा लाग्नुको कारणचाहिँ के थियो ?

प्रचण्डसँग थोरै कुरामा हाम्रो मतान्तर भयो । हामीले थोरै समय दिएर संविधानका असन्तुष्टिहरुलाई सम्वोधन गरौं भन्यौं । मधेसी समुदायलाई पनि समेटेर जाऔं भन्यौं । संविधानसभाको अन्तिम भाषणमा प्रचण्डले राम्रै बोल्नुभएको थियो । तर, भोलिपल्ट महासचिव कृष्णबहादुर महराको हस्ताक्षरबाट एउटा सूचना आयो कि संविधान जारी भएको दिन दिपावली मनाउने । हाम्रो भनाइ के थियो भने तराईतिर मान्छेहरु आन्दोलित भइरहेको र मरिरहेको अवस्थामा हामीलाई उत्सव मनाउन बडो गाह्रो हुन्छ ।

मेरो भनाइ यतिमात्रै थियो कि ०४७ सालमा संविधान घोषणा हुँदा एमालेले आलोचनात्मक समर्थन गरेको थियो, तर उत्सव मनाएको थिएन । संविधानमा आफ्नो नोटअफ डिसेन्ट लेख्यो तर उत्सवमा चाहिँ एमाले गएन । त्यसैले अहिले माओवादीले पनि आलोचनात्मक समर्थन गर्न सक्थ्यो । उत्सव बोकेर नजानुपथ्र्यो । तर, उसले गल्ती गर्‍यो । यदि हामीले फेरि फर्किएर माओवादीलाई बल नदिएको भए गत चुनावमा माओवादीको यति सीट पनि आउने थिएन । हामीले आएर माहौल बनाइदियौं ।

अनि तपाईले बीचैमा बाबुराम नेतृत्वको नयाँशक्ति किन छाड्नुभएको ?

हामी संकटमा पर्‍यौं । मार्क्सवाद छाड्न पनि सक्दैनौं, जिन्दगीभरि मार्क्सवाद बोकेर हिँडेको मान्छे । तर, नयाँशक्तिमा विस्तारै पूर्वप्रशासकहरुको घुसपैठ हुन थाल्यो । विभिन्न क्षेत्रबाट मानिसहरुको प्रवेश हुँदै जाँदा मार्क्सवादप्रति नै तीव्र आक्रमण हुन थाल्यो । यसले हामीलाई सशंकित तुल्यायो ।

दोस्रो, मधेसकेन्द्रित दल उपेन्द्र यादवसँग एकता गरेर एउटा शक्तिका रुपमा हामी स्थापित हुन सक्थ्यौं र राम्रै स्पेस पनि पाइन्थ्यो । त्यसलाई पनि नेतृत्वले स्वीकार गर्न सकेन । उपेन्द्रजी बाबुरामजीलाई नेता मान्न तयार थिए । त्यतिबेला म युरोप गएको थिएँ, नयाँशक्तिकै साथीहरुले एकता गर्नुहुँदैन भनेर सबै बिगारिदिएछन् ।

युरोपबाट फर्केर आएपछि मैले बाबुरामजीलाई भनें कि तपाईले एकता किन बिथोल्नुभो ? म नै एकताको संयोजक थिएँ, सारा दस्तावेजसमेत मिलाएर म युरोप भ्रमणमा गएको थिएँ । मेरो अनुपस्थितिमा एकता प्रक्रिया नै भंग गरिदिनुभएछ ।

त्यसैले, मार्क्सवाद छाडेर बाबुरामजीले जे-जे गर्नुहुन्छ, त्यसैको पछाडि लाग्न सकिएन । र, हामी माओवादीमा फर्कियौं ।

Leave A Reply

Your email address will not be published.