समाचार

कलिलो उमेरमै ठुलो जिम्मेवारी: १४ वर्षकै उमेरमा हातमा स्टेरिङ संगै काँधमा परिवारको जिम्मेवारी

प्रवीण बानियाँ
विराटनगर: साबिक डाँगीहाट गाविस–५ हाल बेलबारी नगरपालिका–११ मा पर्ने लक्ष्मीमार्ग चोकमा पुग्दा दर्जनभन्दा बढी अटो रिक्सा (सफारी) यात्रु कुरेर लाइनमा बसिरहेका हुन्छन् । त्यसै भीडमा भेटिन्छन्, १४ वर्षीया किशोरी रिता कार्की ।

सफारीमा चढेर यात्रु कुरिरहेकी उनलाई देख्नासाथ जो कोहीलाई ‘सफारी चालक’ भनेर पत्याउन मुस्किल पर्छ । कारण– घरमा आमाले पकाएर दिएको खाना खाएर स्कुल जाने बेलाकी उनको यो सफारी चलाएर ज्याला–मजदुरी गर्ने उमेर होइन ।

बेलबारी–११, वीरेटोलकी दुर्गाबहादुर कार्कीकी छोरी रिताले १४ वर्षकै केटाकेटी उमेरमा रहरले सफारी कुदाउन थालेकी भने हैनन् । परिबन्धले बाँधेर ल्याएपछि उनी विगत ४ महिनादेखि ‘सफारीवाली’ भएकी छन् । आफ्नो गाउँ–ठाउँमा रिता ‘कान्छी सफारीवाली’ नामले हिट छिन् ।

रिता बिहानको समयमा स्कुल पढ्न जान्छिन् भने बाँकी समय सफारी चलाएर घरपरिवारको गर्जो टार्छिन् । उनी स्थानीय लक्ष्मी माविमा कक्षा ९ मा पढ्छिन् । बिहान स्कुल गएर आएपछि उनको मजदुरी सुरु हुन्छ । ‘स्कुलबाट आएपछि खाना खाएर १२ बजेतिर काममा निस्किन्छु,’ उनले भनिन्, ‘साँझ ६÷७ बजेसम्म सफारी चलाउँछु ।’

स्कुल बिदा भएका दिन रिता बिहानैबाट सफारी लिएर निस्किन्छन् । स्कुल गएका दिन कमाइ कम हुन्छ भने स्कुल नलागेका दिन बिहानैबाट सफारी चलाउने हुँदा कमाइ पनि राम्रै हुन्छ ।

‘स्कुल गएर काममा जाँदा ६–७ सय सम्म कमाइ हुन्छ । स्कुल बिदा भएका दिन बिहानैदेखि चलाउने भएकाले हजारदेखि १२ सयसम्म पनि हुन्छ,’ रिताले सुनाइन् ।

रिताअघि सफारी उनका बुबा दुर्गाबहादुरले चलाउँथे । तर, बुबाले कमाएको पैसा कमै मात्र घर ल्याउँथे । मदिरा पिउने आदत परेका दुर्गाबहादुरले सफारी चलाएर कमाएको पैसा जोहो गर्न त परै जाओस्, किस्ता तिर्न पनि पुग्दैनथ्यो । बुबाले पैसा जोगाउन छाडेपछि पछि सफारी जेठी छोरीले चलाउन थालिन् । ‘तर, अस्ति भर्खर दिदीको पनि बिहे भएपछि अहिले म आफैं सफारी कुदाउँछु,’ रिताले भनिन् ।

बुबाले सफारी चलाउँदासम्म आर्थिक रूपमा निकै कठिन अवस्थाबाट गुज्रेको रिताको परिवार पछि दिदीले चलाउन थालिकन राम्रो हुन थालेको रिताले बताइन् । दिदीले सफारी चलाएर किस्ता तिर्न, घर खर्च चलाउनदेखि संघ–संस्थामा दैनिक बचत गर्नसम्म पुर्याउँथिन् ।

रिताको घरमा अहिले कमाउने मुख्य मान्छे उनी मात्रै हुन् । बुबा घर बनाउने काम गर्छन् । तर, उनी प्रायः घरबाहिरै बस्ने भएकाले घरमा भरथेग नरहेको रिता बताउँछिन् । आमा जुना निगुरो (तरकारी) को व्यापार गर्छिन् । त्यसले घरखर्चमा सामान्य सहयोग हुन्छ । ‘तर, मैले सफारी नचलाउने हो भने त घर–व्यवहार चलाउनै गाह्रो हुन्छ,’ रिताले सुनाइन् ।

रिताको परिवारमा आमा–बुबासहित अहिले भाइ र बहिनी छन् । दुई दिदी जेठी र माइलीको बिहे भइसकेको छ । भाइ र बहिनी दुवै स्कुल पढ्छन् । बहिनी नितु कक्षा ७ मा पढ्छिन् भने भाइ मदन कक्षा २ मा पढ्छन् ।

यतिबेला दैनिक खर्च, दुःख–बिरामदेखि लिएर अन्य भैपरी खर्च धान्नेसम्मको जोहो गर्ने दायित्व अहिले रितामाथि नै छ । यति कलिलै उमेरमा रिता अहिले घरमुलीको रूपमा जिम्मेवारी वहन गरिरहेकी छन् ।

१४ वर्षकै उमेरमा रिता सफारी चलाएर घरखर्च मात्रै टार्दिनन्, उनी राम्रो पैसा पनि कमाउँछिन् । तर, स्कुल गएर सफारी चलाएको दिन र नगई चलाएको दिनको कमाइमा फरक हुन्छ । स्कुल बिदाका दिन उनी कम्तीमा दैनिक हजार रुपैयाँसम्म कमाउँछिन् भने स्कुल गएका दिन पनि ६–७ सय सम्म हुन्छ ।

‘पहिला त राम्रो कमाइ हुन्थ्यो । तर, अहिले सफारी धेरै छन्, पहिलाको जस्तो कामइ हुँदैन,’ उनले भनिन्, ‘हुँदा १२ सय सम्म हुन्छ, नहुँदा पनि ६/७ सय त हुन्छ ।’

सफारी चार्ज गर्दा लाग्ने दैनिक १ सय रुपैयाँ र खाजा खर्च कटाएर रिता आफ्नो उमेरभन्दा निकै राम्रो पैसा कमाउँछिन् । उनको मासिक कमाइ औसतमा २५ हजार रुपैयाँसम्म हुन्छ । रिता दैनिक कमाइबाट विभिन्न संस्था–सहकारीमा दैनिक बचत पनि गर्छिन् । ‘२/३ वटा संस्थामा दैनिक बचत गर्ने गरेकी छु, घरखर्च राखेर सबै बचतमै जान्छ,’ उनले भनिन् ।

सुरुमा सफारी किन्दा रिताका बुबाले किस्तामा निकालेका थिए । तर, बुबाको कमाइले मासिक किस्ता तिर्न नपुगेपछि पछि १० धुर जग्गा बेचेर एकैपटक सफारीको ऋण तिर्नुपर्यो । त्यसपछि मासिक किस्ता तिर्नुपर्ने झन्झट सकियो । तर, भएको जग्गै गयो । ‘सफारी निकालेको वर्षदिनसम्म पनि तिर्नुपर्ने किस्ता तिर्न नसकेपछि एक वर्षपछि जग्गा बेचेर सफारीको ऋण तिर्यौं,’ रिताले भनिन् ।

अहिले रिताको काँधमा सफारीको किस्ता तिर्नुपर्ने बाध्यता छैन । तर, जगा बेचेर किनेको सफारीबाट फेरि जग्गै जोड्न पाए हुन्थ्यो भन्ने रितालाई लागेको छ । ‘यो सफारीका लागि जग्गा बेचियो, यसकै कमाइले फेरि जग्गा जोड्न पाए हुन्थ्यो भन्ने लागेको छ,’ उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *